Wednesday, April 22, 2020

आमा हुनेहरुको शान कति डाह लाग्दो है?

मेरी आमा स्वर्गीय लेखा । 

केही महिना पहिला छिमेकी दिदी घरमा आउनु भएको थियो । आमा गुमाएको पीडा मनभरी बोकेर । आमाका साथ लागेर हिड्नेहरु देखेर उहाँलाई डाह लाग्दो रहेछ । उहाँको मुखबाट निस्कियो  "आमा हुनेहरुको 'शान'  कति रिस उठदो हुन्छ है नितु।"

"हेर न यो डाडाभरी (घरवरीपरी) सबै आमाहरु ठिक्ठाक हुनुहुन्छ, सबैका आमा साथै छन। हाम्रा आमालाई चाहि किन भगवानले रोज्यो" दिदिले आफ्ना मनमा गुजुल्टेका पीडा बाहिर निकाल्नु भयो ।

उहाँको कुराले साच्चै मनमस्तिष्कमा च्वास्स घोच्यो  मलाइ पनि ।  उहाँको आमाको मृत्यु मेरो आमाको भन्दा ४५ दिन पहिला भएको थियो । क्यान्सरले चार, पाँच  बर्ष बिछ्यौनामा थलिएपछि स्वर्गबास हुनुभएको थियो दिदिको आमा ।

हाम्रो पीडा उस्तै उस्तै नै छ । तर  क्यान्सरले आमा गुमाउनु परे पनि मेरो आमा ओछ्यानमा धेरै समय थलिनु भएन ।

आमासग साझपख चोकतिर तरकारी किन्न निस्कनु, गफिदै आमाको हात समाएर एक अर्कालाइ उडाउन नपाउनु, आफुले रुचाएको केटाको बारेमा सुनाउन नपाउनु, मन पर्ने रेसीपी बनाएर खुवाउन नपाउनु,  बुवाको कुरा काटेको सुन्ने अवसर गुमाएका हामीलाई अरु कोहि आमासग गफिदै हिडेको देख्दा डाह लाग्दोरहेछ । दिदी भन्दै हुनुहुन्थ्यो 'कति न तिनिहरुको मात्र आमा भए जस्तो!  है नितु?'

 हाम्रो बाल्यकाल एकदम कठोर नियममा बाधिएको थियो । घरमा प्राय दुई जना शिक्षक राखिन्थ्यो । मन नलागे पनि पढ्नै पर्ने बाध्यता थियो । आमाको शासन निरंकुश नै थियो । कुचो, झाडु,लठ्ठी जे ले पनि पिटीहाल्ने । त्यसैले म बाबासग नजिकिन्थे । ठुली भइन्जेल बाबा सगै सुत्थे । बाबाले कहिले गाली गरेको थाहा पाइन ।  फुर्सदको समयमा घरायसी काम सिकाउनु हुन्थ्यो। जतिसक्दो आफ्ना छोरीहरु सम्पुर्ण कुरामा निपुर्ण बनाउन चाहना थियो ।  आमा भन्न्नुहुन्थ्यो 'जहाँ जस्तो घरमा पुगेपनि गरेर खान सक्नुपर्छ तिमिहरुले ' । त्यसै अनुसार ट्रेन्ड गराउन खोज्नु भयो । सधै ।

तर टीन एजको सुरुवातदेखि टाढा बस्नुपर्यो । धेरै कुरा सिक्न नपाइ ।
बाल्यकालको केही कुराहरु आश्चर्य लाग्दो थिए  गरीबीको चरम समस्या रहेछ त्यो गाउँमा । मेरो आमा बिहान भरी चामल, धान, मकै, दाल, कोदो आदि बाड्नु हुन्थ्यो  । गाउँका मानिस बोरा बोकेर आफ्नो पालो कुरीरहेका हुन्थे ।  अनिकालमा अन्न दिए बापत खेताला  पाइन्थ्यो । खेतीपाती धेरै लगाउने भएकाले सधैभरी काम् गर्ने मान्छे हुन्थ्यो  घरमा। आउनेलाइ आफ्नै भागको खाना समेत  खुवाएर पठाउनु हुन्थ्यो । 'घरमा जो आउछन्, पानी भए पनि खुवाउनु' आमा भन्नुहुन्थ्यो'नत्र अलच्छिन हुन्छ ।'

त्यसैले आर्यघाटमा मेरो आमाको अन्तिम संस्कारमा पुग्नु भएको सबैलाइ 'पानी भएपनि पिएर जानुस' भनेको थिए मैले । त्यो मेरो आमाले दिनु भएको सस्कार हो ।

एउटा कुरामा आमासग जहिले असहमति हुन्थ्यो हाम्रो । कट्टर हिन्दु सस्कारमा हुर्कीएको हुनाले महिनावारीको बारेमा उहाँ निकै अनुदार हुनुहुन्थ्यो । गाउँ देखि टाढा जङ्गलको छेउमा एक जना ढाकीम नाम गरेको बृद्दा हुनुहुन्थ्यो । राई थरको उहाँलाई हामी फूपू भन्थ्यौ । पहिलोपटक महिनावारी हुदा मेरो दिदिबहिनीलाई उहाँको घरमा ६-७ दिन बस्न पठाउनु हुन्थ्यो । मलाइ भने एक जना सेतुराम नाम गरेको दाइको घरमा पठाउनु भयो । जङ्गल नजिक घर, इर्खुवा खोलाको आवाज,सुत्ने ठाँउबाट तारा देखिने । मै त्यो महिनावारीभरी सुत्नै सकिन । घर जाने दिन गन्दै बस्थे । तर घर आएपछी पुन २५ दिन अछुत बनाइन्थ्यो । दूध, दहि, घ्यु खान दिइन्नथ्यो । खाने प्लेट, कचौरा स्टीलको हुन्थ्यो । कासको भाडोमा नछुने भएकाले खान हुन्न भनिन्थ्यो । ५ दिन सम्म आफुले खाएको भाडा छुट्टै राख्नु पर्थ्यो ।

मलाइ याद छ । बाघको छालामा पकेटी कसेर डमरु, शंख, घन्टी बजाएर घन्टौ भजन गाउने र रामायण पढ्नु हुन्थ्यो हजुरबुबा । मामाघर तिर हजुरबुबाहरु साधु शन्त पनि हुन्नुहुन्थ्यो रे । मेरो आमाको जन्मकुन्डली काइलो हजुरबुबाले बनाउनु भएको रे । राम्रो, प्रस्ट र टाइप गरेको जस्तो अक्षर छन। अझै मेरो आमाको कुन्डलिनी जतन साथ राखेकी छु ।

धेरै नै रोगले सतायो आमालाई । त्यसपछी काठमाडौ बस्न थाल्नु भयो । हामी प्राय तीन जना दिदिबहिनी र आमा हुन्थ्यौ काठमाडौमा । आमा भन्दा साथी जस्ता भएका थियौ हामी । मनमा लागेका जे कुरा पनि आमासग गर्थ्यौ । बिशेषगरी उहाँ मामाघरतिरको बखान सुन्न रुचाउनु हुन्थ्यो । हामी दिदिबहिनी एक भएर आमालाइ पेल्थ्यौ । तर उहाँले कहिल्यै हार मान्नुहुनथ्यो । रीसले चिटचिट भएपछी हासेर उडाइदिन्थ्यौ । जति नै माया भएपनि देखाउने बानी थिएन बाबाआमाको । 'तेरो बाउ त एस्तो, उस्तो ' भनिरहने । हामी आमाको अगाडी बाबाको सपोर्ट लिन्थ्यौ । आमालाइ चिड्याउन भएपनी ।

आमा कहिलेकाही बिहेको प्रशग कोट्याउनु हुन्थ्यो । बिहेमा चादिको चुरा लगाइदिनु भएछ बाबाले । चादिको चुरा हातमा लगाइदिनासाथ फुकाएर मिल्काइदिनु भको रे । 'लगाउ लगाउ बेहुली नानी भर्ती गएर सुनको चुरा ल्याउला' बाबाले एसरी फकाउनु भएको थियो रे ।  नभन्दै बिहेको १८ औ दिनमा बाबा भर्ती जानू भएको रे । तर आमाको यो जिद्दिपनालाइ बेलाबेलामा मजाक बनाउथ्यौ हामी ।

काठमाडौमा हाम्रो खुशी लामो समय अडीएन । प्रत्येक दिन अस्पताल धाउनुपर्ने बाध्यता बन्यो । एकै दिन अनेकौं टेस्ट हुन थाले । किड्नीको समस्या पुरानो थियो । शरीरभरी अप्रेसन गरेको निशाना देखिन्थे । र पनि हिम्मत नहार्ने कहिल्यै । करिब तीन चार बर्ष प्रत्येक दिन अस्पताल पुगेर अफिस जानू पर्थ्यो । बिहान, दिउँसो, बेलुका कुनै पनि बेला अस्पताल पुग्नु पर्ने । बहिनी र हामीले समय मिलायौ । कान्छी उमेरले सानी भएपनी आमाको साथ कहिले छोडीन । महिनौ अस्पतालको बास हुन्थ्यो । तर आमालाई ठिक बनाएर घर जान पाउँद सारै खुशी लाग्थ्यो । (मामामाइजु,छ्यामा, थपलिया काका, बस्नेत भिनाजु, सुमी, नवीन दाइ, डायना, डा पुकार को सहयोग कहिले भुल्ने छैनौ हामी)

बिहान सबै आआफ्नो काममा लाग्थे ।  आमा र म खाना सङै खान्थ्यौ । उहाँको मन पर्ने कुक म थिए । आमाको अन्तिम अवस्था सम्म रुचाएको खानेकुरा बनाइ रहे। दिनहुँ खानाको टेस्ट फेर्नु पर्थ्यो । एकै खाले खाना दिइरह्यो भने उहाँ भन्नुहुन्थ्यो 'एस्तो खानाले एक साता पनि बाचिन्न ।' खुब मिठासे मेरो आमा ।

आमाको अनुदार पक्ष महिनावारीको बिषयमा थियो ।

जहिले सोध्नु हुन्थ्यो 'ए केटी हो तिमिहरुको महिनावारी कहिले हुन्छ ?'

आमाको यो प्रश्न हामी हासेर उडाइदिन्थ्यौ । कहिलेकाही जिस्किएर 'सुकीसक्यो','महिनावारी हुनै छोड्यो' लगायतका उत्तर दिन्थ्यौ । भान्सामा छिर्न मिल्दैन थियो । केही न केही बहाना मिलाएर महिनावारीको बारेमा बताएनौ ।

थरीथरीका समस्या झेल्नुपरेको आमाको शरीरमा फेरि क्यान्सरले आक्रमण गर्यो । क्यान्सर देखिएकाले उहाँको पिसाब थैली निकाल्नुपर्ने थियो । तर अप्रेसन गर्दागर्दै कायल भएको आमा पुन अप्रेसन गर्न मान्नुभएन । करिब १० महिनामा अरु अङ्गमा पनि पुग्यो । 'मलाइ क्यान्सर भएको हो क्यारे'?आमा आफैमा शंका गर्नुहुन्थ्यो । तर हामीले क्यान्सर लागेको कहिले बताएनौ ।

आमाको आपत्ति रहेको महिनावारीको विषयमा उहाँको देहावसान पछि  गम्भीर रुपमा लिएको छु । प्रत्येकदिन उठ्ने बितिकै आमालाइ पानी दिन्छु । धुपबत्ती  बाल्छु । अनि मात्र आफू पानी पिउने गरेकीछु । तर महिनावारी भएको बखत सात दिन सम्म यो कार्य रोकिन्छ ।यस अवधीमा मेरो आमालाइ कति तिर्खा लाग्दो होला भनेर छटपटाएकी छु ।

खै किन कुन्नि  पीरीयडको समयमा प्राय आमा मेरो सपनामा आउनुहुन्थ्यो। तर आजकल चटक्कै भयो । उहाँ आउनु हुन्न । मैले गर्ने प्रत्येक निर्णय, काम र अवसरमा  आमाको अनुमती कुरीरहेको हुन्छु । भौतिक रुपमा टाढा भए पनि भावनात्मक रुपमा आमा यतैकतै हुनुपर्छ भन्ने बिश्वासमा बाचेको मलाइ आमाको अनुपस्थितीले अत्याइरहेको छ । कतै छोइछिटो भयो कि? यो प्रश्न मनैभरी राखेर सधै भरी आमाको गाइडेन्स कुरीरहेको छु । कम्तिमा सपनामा त देखापरी देउ आमा  🙏




No comments:

Post a Comment