Sunday, June 3, 2018

आज ठीक एक महिना भयो तिम्रो स्वर्गबास भएको



उता देवकी माताले कृष्ण भगवानलाइ जन्माउँदै गर्दा यता हजुरआमाले तिमीलाइ जन्माउनु भएको थियो रे । साँच्चै तिम्रो लीला कृष्ण भगवानको भन्दा कम मुल्यमान थिएन आमा ।
Mum

तिमी जन्मिएपछी हजुरबुवा आफैले तिम्रो ‘चीना’ बनाउनु भएको थियो रे । ‘हजुरबुवाले मेरी नातिनी लच्छिनकी छे, भाग्यमानी हुन्छे भन्नुहुन्थ्यो रे’ बुवा त्यसै भन्नुहुन्छ आजकल ।


भाग्यको के लेखाजोखा गर्नु खै?

बच्चाबेलामा तिमी एकदमै सानी, पातली भएकोले सबैले लुरी भनेर चिन्नथालेको रे । अझै पनि हामीलाइ लुरीको छोरी भन्छन् धेरैले  । तर बिस्तारै रोगी मासु थपिएको थियो तिम्रो ज्यानमा ।
Mum when she was young


आज ठीक एक महिना भयो तिम्रो स्वर्गबास भएको ।

मलाइ थाहा थियो तिमीले स्वीकार गरेको थिएनौ मृत्युलाइ । बित्नु भन्दा केहीदिन  पहिला डाक्टरसँग तिमीले त्यस्तै भनेकी थियौ जुन कुरा मेरो मानसपटलमा घुमीरहन्छ ।


तर मृत्युलाइ जित्न खोज्दाखोज्दै पनि क्यान्सरले तिमीलाइ लगीछोड्यो । तिमीले प्राण त्याग्नु भन्दा ३ दिन पहिला आफै लठ्ठी टेकेर बाथरुम जान खोज्थ्यौ । तिम्रो आत्मबल, शाहस र सकारात्मक सोच को कुरा गरी साध्य छैन आमा ।
आमा, तिमी नहुँदा त कति शुन्य हुँदो रहेछ घर पनि । घरभरी मान्छे भए पनि के के नभए जस्तो, के के नपुगे जस्तो ।  घरको वास्तविक सौन्दर्य हराए जस्तो । तै पनि सबै कुरा चालु नै छन् तिम्रो अनुपस्थितीमा ।
एक महिना भयो तिमी गएको तर कता कता कुनै दिन तुप्लुक्क आइपुग्छौ की जस्तो चै लागीरहन्छ । खैर, तिमी आउँदैनौ भन्ने राम्रै जानकारी भए पनि ।
अामाकाे प्रिय कन्ठ

मलाइ बैशाख २१ गतेको दिनको सम्झना आइरहेको छ आज, तिमी आनन्दले सुतिरहेको जस्तो देखिन्थ्यौ । किनकी तिमीलाइ ‘मरफियम’ दिइएको थियो पीडा लुकाउनलाइ । अन्दाज थिएन तिमी यति चाँडै गइहाल्छौ भन्ने कुरा ।

अचम्म कस्तो भने तिमी सधै सुतेजस्तो गरेरै प्राण त्याग्यौ । कुनै छटपटी थिएन । तिम्रो जस्तो राम्रो मरण सबैको हुँदैन सायद ।
ठीकठीक हुनुन्थ्याे अस्ती सम्म 

तिमीले हाम्रो साथ छोड्ने बितिकै सरररर पानी परेको थियो एकसरो । तिम्रो हात सुम्सुम्याउँदै झ्यालबाट बाहिर हेरेँ एकैछिनमा पानी रोकीयो । सुनेको थिएँ, भाग्यमानीहरु बितेपछी यसरी नै पानी पर्छ ।

त्यतिन्जेल सम्म मलाइ लाग्थ्यो तिम्रो श्सास फेरी फर्किन्छ होला । तर ती नर्शहरु आए तिम्रो ढुकढुकी नापे र प्रतिक्रिया बिहिन चुपचाप निस्किए ।

त्यो पछी तिमी फर्किन्नौ अब भन्ने निश्चित भएँ ।

पितृको आत्मा  बुझाउन गाह्रो हुन्छ भन्छन्, थाहा छैन तिम्रो अन्तिम संस्कार तथा अन्य काम केकसो गर्यौ हामीले । मलाइ थाहा छ तिमी तिम्रा सन्तानहरुलाइ जहिले माफी दिनेछौ कुनै गल्ती भएको खन्डमा ।
तिमी टाढा भए पनि साथमा भएको महशुस गर्दैछु । हामीले गरेका प्रत्येक कामहरुमा तिमीले नै मार्गनिर्देशन गर्छौ भन्ने अझै विश्वस्त छौ आमा ।
समस्या अाएपछी एउटा किड्नी फाल्नु परयाे, साेही अपरेसनकाे लागी तयारी हुनुभएकाे अामा 
अाठ घन्टा लामाे अपरेसनपछी केही दिनमा  खाना खाँदै अामा