Friday, August 27, 2021

पाँच लाखको परेवा !

पैसा होइन पासो छ परदेशमा बोलाउँदैछन् आफन्तले स्वदेशमा शान्तिको गुँड सानो देशमै बना... वर्तमानको प्रसिद्ध यो गीतले बिदेसिएका नागरिकलाई देश फर्किन प्रेरित गर्छ। पक्षीको बिम्बमा सिर्जित यो गीत पक्षी जाति परेवामा पनि उत्तिकै मेल खान जान्छ। परापूर्व कालको हुलाकी–चरो अनि शान्तिको दूत परेवा राजधानीमा कुन हालतमा छ ? के छ उसको जीवनचर्या ? कसरी जिउँछ ऊ ? कतै पलायन भइरहेको छैन ? उडेको यो पक्षी फर्केर आउने ठेगान त छ ? समाचार मान्छेको मात्र हुँदैन। आउनुहोस्, आज राजधानीका परेवामाथि चियोचर्चो गरौं। तिनको जिन्दगीलाई पत्रिकाका पानामा उतारौं। काठमाडौं उपत्यकाका सम्पदाको गहना बनेका परेवाको इतिहास अलि रोचक छ। चराविद् डा. हेमसागर बरालका अनुसार नेपालमा पाइने परेवा नेपालकै हुन्। बाहिरबाट ल्याइएको होइन। घरपालुवा चराका रूपमा परिचित परेवा पहिले पहिले घरमा, चट्टान र प्वाल परेको ठाउँमा आश्रय लिन्थे। अहिले घरका खड्पलमा पनि बस्छन् तर, आफूखुसी मात्रै। उनीहरूलाई बसेको स्थान मन नपरे बसाइँ सर्छन्। त्यसैले परेवा स्वतन्त्र छन्। विज्ञानलाई जित्ने परेवा परेवाको प्रयोग प्रथम विश्वयुद्धदेखि हुन थालेको हो, त्यो पनि जासुसीका रूपमा। चराविद् डा. हेमसागर बरालका अनुसार अमेरिकाले शीतयुद्धमा परेवालाई जासुसीका रूपमा प्रयोग गरेको भनाइ काल्पनिक होइन। विज्ञानको चमत्कार सुरु हुनअघि परेवा सञ्चारका लागि उपयुक्त माध्यम बनेको थियो। त्यतिमात्रै होइन, परेवालाई लामो दूरीका सन्देशवाहक पनि बनाइयो जुन काम अहिले ट्विटर, फेसबुक जस्ता सामाजिक सञ्जालले गरिरहेका छन्। संस्कृतमा कपोत नामले पुकारिने परेवाले बोकेका ऐतिहासिक विरासत थुप्रै छन्। उहिले–उहिले परेवाको खुट्टामा बाँधेर चिठी आदानप्रदान गरिन्थ्यो। ‘कबुतर जा जा जा... पहेले प्यारकी पहेले चिठी साजनको दे आ...’ हिन्दी गीत–संगीतमा पनि परेवाले स्थान पाएकै छ। जोडी परेवालाई प्रेमको प्रतीकका रूपमा पनि लिइन्छ। परेवालाई शान्तिको दूत भन्नुको पछाडि ग्रिक परम्पराले प्रभाव पारेको हो। अहिले पनि जासुसी परेवाका विषयमा समाचार आउने गर्छन्। अहिले समय परिवर्तनसँगै परेवाको भूमिका पनि फेरिएको छ। क्रमशः परेवालाई प्रतियोगितामा सहभागी गराउन र मनोरञ्जन ग्रहण गर्ने काममा समेत प्रयोग गर्न थालियो। राजधानी काठमाडौंको पशुपतिनाथ मन्दिर र बसन्तपुर दरबारमा रहेका सयौं परेवा चारो खान बस्दा र एक साथ भुरुर्र उड्दाको दृश्यले भिन्दै माहोल बनाउने गर्छ। तर, यी परेवा नेपालमा कहिलेदेखि पाल्न थालियो भन्ने यकिन तथ्यांक भने छैन। राणाको सोखले परेवा पालन सुरु राणाहरूले सोखका रूपमा परेवा पाल्न र उडाउन थालेपछि परेवा काठमाडौं उपत्यकाका सम्पदाहरूमा रहन सुरु गरेको बुढापाकाको तर्क छ। ‘उहिले राणाकालमा उडाउन ल्याउँथे रे, त्यसकै बच्चा बढेर फैलिएको भनेर कथा सुनेको हुँ’, विजयपुर दरबार क्षेत्रमा भेटिएका ८९ वर्षीय वृद्ध रञ्जनलाल मानन्धर भन्छन्, ‘परेवा उडेर आउँछन्, जान्छन्। थाहा पाएदेखि नै यस्तै थियो, अहिले त संख्या घटेको पो त।’ बाँदरलाई मार्ने, कपाल बेरिएर खुट्टा चुँडिने र रोगले पनि परेवा मर्ने गरेका दृश्यले मुटु पोल्ने तर सरकारको यसतर्फ ध्यान नजाने मानन्धर बताउँछन्। उपत्यका बाहिरका जिल्लामा भने परेवा मासु खान पनि प्रयोग गरिन्छ। परेवाको मासु खाने प्रचलन नयाँ होइन तर खासगरी उपत्यकावासीलाई भने यो अचम्म लाग्न सक्छ। जाडो मौसममा परेवाको मासु खाने चलन छ। परेवाको मासुले तातोपन दिन्छ भन्ने विश्वास पनि छ। तर, काठमाडौं उपत्यकामा परेवाको संरक्षण गरिन्छ, मारे कारबाही हुन्छ। पाटन दरबार स्क्वायरमा परेवाको दाना बेचेर गुजारा गर्दै आएकी जनकपुरकी ३५ वर्षीया नजिमा खातुनका अनुसार पछिल्लो समय परेवाको संख्या केही मात्रामा घटेको छ। उनी लामो समयदेखि पाटनमा बस्दै आएकी छन्। दुई वर्ष पहिलेदेखि मात्रै परेवाको चारो बेच्न थालेकी उनी दैनिक करिब पाँच किलो दाना बेच्ने गरेको बताउँछिन्। ‘पहिलाको तुलनामा यो कम हो’, खातुन भन्छिन्, ‘कोभिडका कारण मानिसको आउजाउ कम भएकाले परेवालाई दाना ख्वाउनेहरू कम भएको र त्यसका कारण परेवाको संख्या पनि घटेको जस्तो देखेको छु।’ काठमाडौं बाहेकका जिल्लामा रहेका मन्दिरहरूमा पनि चढाएका परेवा धेरै भेटिन्छन्। हिमाली जिल्ला ताप्लेजुङको पाथीभरा मन्दिरदेखि झापाको अर्जुनधारा मन्दिर परिसरमा पनि चढाएका परेवा भेटिन्छन्। ग्रहदशा काट्न, पूजा गर्न, मनोकांक्षा पूरा गर्न र भाकल गर्न पनि परेवाकै प्रयोग नेपाली समाजमा छ। ताप्लेजुङका राजेन्द्र श्रेष्ठले काठमाडौंको विजयपुर दरबार क्षेत्रको मन्दिर परिसर नै ढाकेर बसेका परेवालाई देखेर सँगै रहेका साथीलाई सोधे, ‘यहाँ परेवा कसैले मार्दैन ?’ उनका साथीको जवाफ थियो ‘यहाँ परेवा मार्ने होइन, परेवालाई चारो ख्वाउने र पाल्ने आउँछन्, काठमाडौं उपत्यकामा परेवाको कथा नै फरक छ।’ अन्य जिल्लामा परेवालाई मासुको रूपमा पनि प्रयोग गरिन्छ तर काठमाडौंमा यसलाई गर्ने व्यवहार र हेर्ने दृष्टिकोण फरक छ। त्यसैले काठमाडौंमा आउनेहरू यो विषयलाई अचम्म मान्छन् पनि। यसको इतिहास थाहा नभए पनि सम्पदा क्षेत्रमा पाइने परेवालाई चारो ख्वाउने र उडाएर मज्जा लिँदै फोटो खिच्ने युवा कहिले टुट्दैनन्। परेवा उडाउने प्रतियोगिता पनि काठमाडौंमै हुन्छ। परेवा किन्न र पाल्नकै लागि लाखौं रुपैयाँ खर्चने पनि यहाँ छन्। चारो ख्वाउन आँखा मिच्दै पशुपति कति व्यक्ति परेवालाई दैनिक चारो ख्वाउन बिहानको झुल्के घामसँगै मन्दिर क्षेत्रमा पुग्छन्। ‘दुई मुठ्ठी चामल भए पनि छर्न दैनिक आउँछु, परेवालाई ख्वाएपछि आनन्द आउँछ’, बिहानै पशुपतिनाथ मन्दिर परिसरमा भेटिएका तीनकुनेका शिवनारायण अधिकारीले भने, ‘परेवा पनि आहा गरेर बस्छन् जस्तो लाग्छ, ५ बजे निद्राले छाड्छ प्लास्टिकमा चारो बोकेर हिँडिहाल्छु।’ पशुपतिनाथ मन्दिर क्षेत्रमा परेवालाई बिहानै पाँच बोरासम्म चारो ख्वाइन्छ। चारो ख्वाएको समयमा देखिने दृश्य हेर्दा बेग्लै मज्जा आउँछ। ‘बिहानै बोराको बोरा चारो लिएर दाता आउनुहुन्छ, दिनमा तीन पटकसम्म चारो ख्वाउने चलन छ, परेवा अहिले काठमाडौंका मन्दिरसहितका सम्पदा क्षेत्रको गहना नै हो’, परेवाको रेखदेखसमेत गर्दै आएका पशुपति मन्दिरका संलग्न ध्रुवप्रसाद बाँस्तोला भन्छन्। उनका अनुसार बिहान ६ बजेबाट ७ बजेसम्ममा परेवालाई चारो ख्वाउन दाता पुग्छन्। परेवालाई चारो ख्वाउन पुग्नेहरूको आ–आफ्नै तर्क र मान्यता छ। २०५६ सालदेखि पाटन दरबार परिसरमा सरसफाइका काममा लागेका ४४ वर्षका शुकराम कुर्कुटीले दाना ख्वाउनेहरू धर्मका लागि परेवालाई ख्वाउन आउने गरेको देखेको बताए। उनका अनुसार कसैले स्वर्गवास भएका आफन्तका नाममा पनि परेवालाई ख्वाउँदै आएका छन्। परेवालाई मन्दिरमा जिउँदै छोडेर तथा देवीदेवतालाई चढाउने चलन पनि छ। ठाउँअनुसार परेवाको फरक प्रयोग जनकपुरकी नजिमा खातुनका अनुसार मुस्लिमहरूले परेवालाई भगवान्का रूपमा पूजा गर्छन्। परेवाको मासु खाने प्रचलन मुस्लिम समुदायमा छैन। तर, तराईका जिल्लाहरूमा औषधिका रूपमा परेवाको मासुको प्रयोग गरेको पाइएको सर्लाहीका धु्रव सिंहले बताए। उनका अनुसार भाइरलबाट बच्नका लागि पनि परेवाको मासु खाइन्छ। मरमसलासहित बनाएको पिरो झोल खाएपछि रुघाखोकी निको हुन्छ भन्ने जनविश्वास छ। पहाडी जिल्लामा पनि परेवालाई मासुको रूपमा उपभोग गर्दै आएको देखिएको छ। पहाडी जिल्लामा आफ्नै घरमा गुँड बनाएर बस्न दिने र परेवाको मासु खाने तथा बेच्ने पनि गरिन्छ।डोल्पाकी सोनम छोकी शेर्पाका अनुसार हिमाली जिल्लाहरूमा काटमार गरिँदैन। त्यहाँ परेवाहरू पनि पालिँदैन। माथि हिमालतिर हिउँमा बस्ने ‘स्नो पिजन’ देखिए पनि त्यसलाई कसैले पनि खाँदैनन्। त्यस भेगमा भएका परेवाका बारेमा खासै कुनै पनि अध्ययन नभएको उनले बताइन्। भनिन्, ‘मार्नु हुँदैन, काट्नु हुँदैन भन्ने मान्यता छ हिमालतिर।’ परेवाले वातावरणमा सकारात्मक योगदान पुर्‍याएको हुन्छ। वन परेवाको भूमिका महŒवपूर्ण छ। वन परेवाले दाना तथा फलफूल खान्छन्। उनीहरूको दिसाबाट फलफूल र बोटबिरुवाको बीउ एक ठाउँबाट अर्कोमा उमार्छन्। वर, पीपल, समीजस्ता बिरुवाहरू जस्तोसुकै अप्ठेरो ठाउँमा पनि उम्रिनुमा वन परेवाको योगदान रहेको चराविद् डा. बराल बताउँछन्। परेवा उडान क्लब स्वर्गीय राजा वीरेन्द्रका ज्वाइँ गोरखशमशेरको अध्यक्षतामा परेवा पाल्न सोखिनहरूको समूहले हिमालयन परेवा उडान क्लबको स्थापना गरेका छन्। २०६६ सालमा स्थापना भएको यस क्लबमा सात सदस्य समिति छ। यसले प्रत्येक वर्ष परेवा उडान कार्यक्रम आयोजना गर्छ। हिमालयन परेवा उडान क्लबका सचिव शैलेन्द्रविलास बज्राचार्यका अनुसार उक्त क्लबले प्रत्येक वर्ष पूर्ण उडान र उत्कृष्ट उडान विधामा कार्यक्रम आयोजना गर्छ। पूर्ण उडान वैशाखमा हुन्छ। पाँचदेखि सातवटा परेवा उडाइन्छ। नाम दर्ता गरेर सबैको परेवा एकैचोटी उडाइन्छ। जसको परेवाले धेरै उडान गर्‍यो ऊ विजयी हुन्छ। उनीहरूको ‘ट्र्याकिङ’ तथा ‘मोनिटरिङ’ गर्ने टोली हुन्छ। चना, तोरी, केराउ, बाजुरा, जुनेली, मकै, धान, गहुँलगायतका दाना ख्वाउने गरिन्छ। कम्तीमा आठ किलो दैनिक दाना खान्छन्। नेपाल बाल मन्दिरका पूर्वनिर्देशक रमेश भोमी परेवा पाल्न सौखिन व्यक्ति हुन्। हाल उनले करिब ५० वटा परेवा पालेका छन्। २०७२ सालको भुइँचालोपछि थोरै मात्रै परेवा राखेको बताए। पहिला करिब डेढ सय जति थिए। पाँच लाखको परेवा ! एउटा परेवाको मूल्य कति होला ? अनुमान गर्नै कठिन पर्छ। हुन पनि यत्ति नै भन्ने छैन। पत्याउन गाह्रो पर्ने खालको महँगो पनि हुन्छन्। दुई महिना पहिला विश्वको उत्कृट ‘चौधरी सक्की’ जातको पाकिस्तानी परेवा थानकोटको विश्वराज जोशीले ल्याएका छन्। यसलाई पाँच लाख रुपैयाँमा किनेर प्लेनबाट ल्याइएको हो। त्यसको हड्डी र पखेटा फरक हुन्छ। यो एकदमै पुरानो ब्रिडको विश्वको च्याम्पियन उत्कृष्ट परेवा हो। तर, धेरै वर्षदेखि यस परेवाले भाग लिएको छैन। पाकिस्तान, बहराइन, भारत, दुबईबाट यस्ता परेवा ल्याइन्छन्। श्रीलंका र भारतमा नेपालबाट पनि पठाइन्छ। पाकिस्तानमा पहिलाद नवाज साहबहरू सौखले शान्तिको प्रतीकको रूपमा परेवा पाल्दै आएका छन्। मुस्लिम देशहरूले पहिलादेखि पालेको छन्। नेपालमा पनि राणाहरूले परेवा पाल्न चाहेको देखिन्छ। उडानका लागि पालिने परेवा सिन्नी, चाउथे, भुर्जा, सर्जा, लाल, कागजीलगायतका जातहरू छन्। तर यिनीहरूलाई हाल विदेशी नाम दिइएको छ। टेडी, कामागर, डभाला, स्यालकोटलगायतका आयातीय नाम छन्। यिनीहरू रंग मिसिएका हुन्छन्। टेडी विश्वमा सबैभन्दा चलेको परेवा हो। परेवा उडान खेलको विकास परेवा उडान प्रतियोगिता दक्षिण एसियामा नै फस्टाउँदै गएकाले एकथरीले यसलाई खेलको रूपमा विकास गर्दै लैजानुपर्ने माग गरेका छन्। नेपाल खेलकुद परिपद्मा १२६औँ खेलको रूपमा परेवा उडान प्रतियोगिता दर्तासमेत भएको छ। परेवा खेल उडान संघबाट यसलाई प्रतियोगिताको रूप दिएको छ। स्वर्गीय मोहनकृष्ण श्रेष्ठले स्थापना गरेका हुन्। सन् २००० मा स्थापना भएको यस संघको कृष्णसुन्दर प्रजापति, गोरखशमशेर जबरा, नारायणबहादुर श्रेष्ठलगायत सल्लाहकार छन्। नेपाल खेलकुद परिषद्मा परेवा उडान २०६९ मा १२६औं खेलको रूपमा दर्ता भएको थियो। उक्त समयमा युवराज लामा सदस्यसचिव थिए। प्रत्येक वर्ष वैशाखमा परेवा उडानको प्रतिस्पर्धा हुँदै आएको थियो। तर कोरोनाका कारण उक्त कार्य हुन नसकेको बताए। ललितपुर, भक्तपुर, काठमाडौं, काभ्रे, नेपालगन्जलगायतका ठाउँमा परेवापालकहरूको क्लब छन्। नेपालमा कम्तीमा पाँचदेखि सात सयले क्लब दर्ता गरेका छन्। नीराजन चण्डी श्रेष्ठ परेवा उडानलार्ई परम्परागत खेलको रूपमा विकास गर्दै लैजाने लक्ष्य रहेको बताउँछन्। उनका अनुसार नेपालमा एघार पुस्तादेखि परेवा पाल्दै आएको इतिहास छ। ‘भक्तपुरका केही घरमा सिद्धिनरसिंह मल्लको पालादेखि नै परेवा पाल्दै आएको भेटाइन्छ’, नेपाल परेवा खेल उडान संघका सचिव उनी भन्छन्, ‘नेपालमा मात्रै नभएर दक्षिण एसियामा परेवा उडानलाई परम्परागत खेल मानिन्छ।’ बाँदरबाट असुरक्षित पशुपतिनाथ मन्दिर क्षेत्रमा दैनिक दर्जनभन्दा बढी परेवा मृत भेटिन्छन्। विभिन्न संक्रमण र रोगलेभन्दा पनि परेवा बाँदरको सिकार बन्ने गरेको छ। परेवालाई चारो ख्वाउने समयमा पनि बाँदरले परेवालाई लखेटेर पछार्ने गरेको दृश्य देखिन्छ। ‘बाँदरले भेट्यो भने घाँटी बटारेर मार्दो रहेछ, सफा गर्ने क्रममा बिहान, बेलुका धेरै परेवा मरेका भेटिन्छन्’, चक्र श्रेष्ठ भन्छन्। --- नेपालमा पाइने परेवा ‘मलेवा’को रूप डा. हेमसागर बराल, चराविद् नेपालमा परम्परागत रूपमा पाल्दै आएका परेवा जंगलमा हुने मलेवा (जंगली परेवा) को बिउबाट आएको हो। पोखरा, तराई, काठमाडौंलगायत सबैतिर पाइने परेवा मलेवाको रूप हो। यिनीहरूलाई पूरै जंगली भन्न मिल्दैन। त्यसैले यसलाई ‘फेरल’ अर्थात् जंगलबाट घरमा ल्याएको तर घरपालुवा बनाउन खोज्दै गर्दा निस्किएर फैलिएको एक जाति भनिन्छ। यसलाई विस्तारै घरपालुवा बनाइएको हो। मलेवाको वैज्ञानिक नाम ‘कोलम्बा लिबिया’ हो। नेपालमा डभ, कमन डभ, ब्लु रक पिजन, रक पिजनलगायत जंगली जातका परेवाहरू छन्। परेवा सौखिनहरूले उडाउने परेवा फेरल परिवारको ‘रक डभ’ प्रजातिको हो। यस परेवा उडान गर्नेहरूले रक डभ प्रजातिलाई आफ्नै तरिकाले ‘हाइब्रिड’ गरेर उडाउन तयार गरेका छन्। जो मजाले उडान लिन सक्छन्। यस परेवाका रैथाने परेवासँग ‘इन्टरब्रिड’ भएको छ। त्यसैले यहाँका परेवाहरू माले, खैरो, सेतो, रातो, कालो, हरियो अनेकौं रंगका हुन्छन्। नेपालमा तीन प्रजातिका परेवा पाइन्छन्। मलेवा जातको पहाडदेखि तराईसम्म नै पाइन्छ। हिल पिजन हिमाली भेगमा देखिन्छ। स्नो पिजन एकदमै हिमाली क्षेत्रमा मात्र देखिन्छ। यसकोे तल्लो पेटको भाग र नितम्ब सेतो हुन्छ। ठूलो बथानमा हिँड्छन्। लाङटाङ, डोल्पा, घान्दु्रक आदि ठाउँमा स्नो परेवा देखिन्छ। घरपालुवाहरू मिक्स रंगका हुन्छन्। अर्को हरियो परेवा पनि हुन्छ। जसलाई हलेसो भनिन्छ। वनमा र चट्टान भएको ठाउँमा बस्छन्। उडान गर्ने ‘रेसिङ पिजन’ हरू सबै आयातीत हुन्। उडेर कुनै पनि बेला जान सक्ने प्रकृति भएकाले परेवालाई पूर्णरूपमा घरपालुवा भन्न सकिन्न।

Saturday, July 10, 2021

NO END TO HARD TIMES


 Nitu Ghale

2 August 2020 | Kathmandu

Nisha, 23, is from Humla and Dilkumari, 22 is from Dailekh. As transgender women living in Kathmandu, Nisha and Dilkumari have to deal everyday with social stigma, economic barriers and lack of access to services, and the COVID-19 pandemic has ripped their lives apart. While the government-imposed lockdown has ended, Nisha and Dilkumari’s troubles are far from over.


“Many in the LGBTI community were forced to return to the place where they escaped from due to the four-month lockdown. Some were out, but many were not, and they have had to suffer violence, stigma and humiliation from neighbours and family members. They want to return, but they can’t. Meanwhile, many are suffering in Kathmandu as they have lost their jobs, and many don’t even know where the next meal is coming from.”

-Dilkumari 22, Laltipur


“Every single day is hard. I was in my fourth year of college but I can’t attend classes. I used to work as a social worker, and have lost my job. I took a loan to survive but how long will that money last? I am worried that my landlord will kick me out as I don’t know where the rent money is coming from. But I am not the only one struggling, many others are too. In order to survive, many have had to go back to sex work. It is hard to find clients in the pandemic. It is hard to be out late at night. The locals have started clamping down. They beat up one of my friends yesterday as she was moving around their area. We lived in pain during the lockdown, and we still live in pain when the lockdown has opened.”

-Nisha, 23, Lalitpur


Text and Photos: Nitu Ghale @eastern_keen

Edit: Mallika Aryal @mikaness


#nepalphotoproject #covidresponse #storiesofpandemic  #stigma

Sunday, June 13, 2021

सीकलेसको सौर्न्दर्य !


×
annapurna post